बारम्बार सोधिने प्रश्न

सूचना अधिकारीलाई बारम्बार सोधिने प्रश्नहरू (FAQ) र तिनका जवाफ

तपाईंको आवेदन रिजेक्ट हुँदा कारणसमेत उल्लेख भएको हुन्छ । जे कारणले रिजेक्ट भएको हो सो कारणको सम्बोधन गर्ने गरी (विवरण सच्याएर वा आवश्यक डकुमेन्ट अपलोड गरेर) तपाईंले पुनः आवेदन दिनुपर्ने हुन्छ ।
तपाईंले कुनै देशमा रहेको शिक्षण संस्थामा शुल्क पठाइसकेको अवस्थामा नयाँ वैदेशिक अध्ययन अनुमतिपत्र (NOC) का लागि आवेदन गर्न सक्नुहुन्छ तर पुरानो NOC रद्द गरेर नयाँ प्राप्त गर्नका लागि उक्त सम्बन्धित शिक्षण संस्थाबाट शुल्क फिर्ता भएको बैङ्‌क स्टेटमेन्ट प्रस्तुत गर्नुपर्छ ।
छात्रवृत्तिसम्बन्धी ऐन, २०२१ को दफा ३ ख मा “स्वीकृति (नो अव्जेक्सन लेटर) लिनु पर्ने” सम्बन्धी व्यवस्था रहेको छ । जसको उपदफा (१) मा नेपाली नागरिकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पूर्व स्वीकृति नलिइ विदेशमा उच्च शिक्षा अध्ययन गर्न जानु हुँदैन भन्ने व्यवस्था रहेको छ भने शिक्षा ऐन, २०२८ को दफा २ को खण्ड (घ) मा “माध्यमिक शिक्षा” भन्नाले कक्षा नौदेखि बाह्रसम्म दिइने शिक्षा सम्झनु पर्छ भन्ने व्यवस्था रहेकोले छात्रवृत्ति ऐनको उक्त व्यवस्था बमोजिम विद्यालय तहको शिक्षाभन्दा माथिल्लो तहको उच्च शिक्षा अध्ययनको लागि यस मन्त्रालयबाट स्वीकृति दिने गरिएको छ । जहाँसम्म विद्यालय तहको अध्ययनको लागि NOC माग गर्ने विषय छ सो सम्बन्धमा छात्रवृत्तिसम्बन्धी ऐनले परिकल्पना गरिएको देखिदैन । तथापि नेपाली नागरिक रोजगारी वा व्यवसाय वा अन्य कुनै कारणबाट विदेशमा रहिरहनु पर्ने भएको र निजले आफ्नो सन्तानलाई विदेशकै शिक्षण संस्थामा विद्यालय तहको कक्षामा भर्ना गर्नु पर्ने भई NOC आवश्यक पर्ने भएमा विदेशी मुद्राको सटहीको सुविधा नमाग्ने गरी विद्यालय तहको वैदेशिक अध्ययन स्वीकृति माग गरेमा र व्यहोरा मनासिव लागेमा मन्त्रालयले स्वीकृति दिन सक्ने गरी “वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९” को दफा २६ मा व्यवस्था गरिएको छ ।
नेपालबाट कुनै पनि देशका शिक्षण संस्थामा अध्ययन गर्न जाँदा वैदेशिक अध्ययन अनुमतिपत्र (NOC) लिनुपर्दछ ।
चिकित्सा शिक्षाका कुनै पनि विषयमा वैदेशिक अध्ययन अनुमतिपत्र (NOC) प्राप्त गर्नका लागि चिकित्सा शिक्षा आयोगको Eligibility letter आवश्यक पर्छ र त्यसका लागि तपाईँले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको पछिल्लो प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ ।
वैदेशिक अध्ययन अनुमतिपत्र का लागि अनलाईन आवेदन पेश गर्न सकिन्छ । तपाईंको आवेदन भेरिफाई भएपछि तपाईँ शुल्क बुझाउने मेसेजका साथ भिजिटिङ मिति र समय आएमा आवश्यक सबै डकुमेन्टको सक्कलै प्रति लिएर कार्यालयमा उपस्थित हुनुपर्छ । भिजिट गर्नु नपर्ने अवस्थामा भिजिटिङ मिति र समय उल्लेख भएको मेसेज आउँदैन । तपाईँले अनलाइनबाट नै डाउनलोड गर्न सक्नुहुन्छ ।
कक्षा १० र कक्षा १२ को प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयबाट प्रमाणीकरण गरेर र उच्च शिक्षाका प्रमाणपत्र सम्बन्धित विश्वविद्यालयका परीक्षा महाशाखा/परीक्षा नियन्त्रण कार्यालयबाट प्रमाणित गरेपछि मात्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट प्रमाणीकरण गर्न सकिन्छ । हाल उक्त शाखा सानोठिमीमा अवस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्य दृश्य शाखा परिसर (पाठ्यक्रम विकास केन्द्र, सानोठिमी को करिब २०० मिटर पूर्व) मा अवस्थित छ । नेपालस्थित विदेशी शिक्षण संस्थामा अध्ययन गरेका विद्यार्थीले भने सम्बन्धित विश्वविद्यालय/बोर्ड र सम्बन्धित सरकारले तोकेको नेपालस्थित कुटनीतिक नियोगबाट प्रमाणित गरेपछि मात्र मन्त्रालयको शाखाबाट प्रमाणीकरण गर्न सकिन्छ । कक्षा १० भन्दा तलका प्रमाणपत्रहरूका हकमा भने सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा शिक्षा अधिकृत वा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले प्रमाणित गरेपछि मात्र मन्त्रालयको शाखाबाट प्रमाणीकरण गराउन सकिन्छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हरेक वर्ष विद्यालय शिक्षासम्बन्धी तथ्याङ्‌क समावेश भएको फ्ल्यास रिपोर्ट प्रकाशन गर्दछ । उक्त रिपोर्ट शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइट www.cehrd.gov.np मा गएर हेर्न र डाउनलोड गर्न सकिन्छ । अथवा तपाईंले गुगलमा गएर Flash Report सर्च गरी खोज्न सक्नुहुन्छ ।
उच्च शिक्षासम्बन्धी तथ्याङ्‌क विश्वविद्यालय अनुदान आयोगले राख्ने गर्दछ । त्यस्तो तथ्याङ्‌क प्राप्त गर्नका लागि www.ugcnepal.edu.np मा गएर publications खण्डमा हेर्न सकिन्छ।
कक्षा १० र कक्षा १२ वा सोसरहका उपाधिका लागि पाठ्यक्रम विकास केन्द्र, सानोठिमी र उच्च शिक्षाका उपाधिका लागि त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रमा पेश गर्नुपर्छ । हाल दुवै संस्थाले अनलाईन आवेदन गर्न सकिने प्रावधान कार्यान्वयनमा ल्याएका छन् । पाठ्यक्रम विकास केन्द्र सानोठिमीको यो https://loe.moecdc.gov.np र त्रिभुवन विश्वविद्यालयको यो https://tucdc.edu.np/register मा गएर विस्तृतमा जानकारी लिई आवेदन गर्न सकिन्छ ।
नेपालमा अध्ययनरत विदेशी विद्यार्थी र निजका आश्रितले विद्यार्थी भिसाका लागि सिफारिस प्राप्त गर्न विद्यालय तहमा अध्ययनरत भए सम्बन्धित शिक्षण संस्थाको SMC वा Board को निर्णयको छाँयाकपी सहितको सिफारिस पत्र, सम्बन्धित पालिकाको सिफारिस पत्र, सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइकाे सिफारिस पत्र एवम् शिक्षा तथा मानवस्रोत विकास केन्द्रको सिफारिस पत्र, सम्बन्धित विद्यार्थीले नेपाल स्थित स्थानीय बैंकमा ३००० अमेरिकन डलर वा सो बराबरको नेपाली मुद्रा मौज्दात रहेको Current बैंक स्टेटमेन्ट र आश्रितको हकमा प्रतिव्यक्ति २००० अमेरिकन डलर वा सो बराबरको नेपाली मुद्रा मौज्दात रहेको Current बैंक स्टेटमेन्ट, सम्बन्धित व्यक्तिको पासपोर्ट र भिसाको कपी, पासपोर्ट साइजको फोटो राखेर बैयक्तिक विवरण CV/Bio-Data, सम्बन्धित मुलुकको NOC Letter, भर्ना भएर शुल्क तिरेको रसिद वा भौचरको कपी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका पेश गर्नु पर्छ । यदि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सिधै अनुमतिप्राप्त वा स्वीकृतीप्राप्त शिक्षण संस्था हो भने सम्बन्धित शिक्षण संस्थाले आफ्नो SMC वा Board को Decision गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सम्बोधन गरेर Letter Head सहित उपरोक्त बमोजिमका कागजातहरू संलग्न राखी सिधै पेश गर्न सकिन्छ । उच्च शिक्षाको हकमा सम्बन्धित विश्वविद्यालयको सिफारिस सहित उपरोक्त बमोजिमका कागजातहरू संलग्न राखी अध्ययन/अनुसन्धान र आश्रित भिसा सिफारिसका लागि सिधै पेश गर्न सकिन्छ ।