वि.सं. २००७ सालको राजनीतिक परिवर्तनसँगै सोही वर्षको फागुनमा शिक्षा मन्त्रालयको स्थापना भएको हो । स्थापनाकालदेखि वर्तमान अवस्थासम्म आइपुग्दा मुलुकको राजनीतिक, सामाजिक, आर्थिक तथा शैक्षिक परिवेशमा आएको परिवर्तन, राज्यको पुनर्संरचना तथा सरकारका प्राथमिकताअनुरूप नेपाल सरकारको कार्यविभाजन नियमावलीमा समय-समयमा संशोधन तथा परिवर्तन हुँदै आएको छ। यसै क्रममा मन्त्रालयको नाम, सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा कार्यक्षेत्रसमेत समयानुकूल परिवर्तन र विस्तार हुँदै आएको छ । विगतमा शिक्षा मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालय, शिक्षा, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलगायतका नामबाट संस्थागत जिम्मेवारी निर्वाह गर्दै आएको मन्त्रालयको पछिल्लो स्वरूप नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ अनुसार शिक्षा तथा खेलकुद क्षेत्रसँग सम्बन्धित सङ्घीयस्तरका नीतिगत, कानुनी, नियामक, मापदण्ड निर्धारण, समन्वय तथा सहजीकरणसम्बन्धी जिम्मेवारी समेटी शिक्षा तथा खेलकुद मन्त्रालय का रूपमा गठन भएको हो । यसरी लामो ऐतिहासिक तथा संस्थागत विकासक्रमबाट विकसित मन्त्रालय वर्तमानमा नेपालको शिक्षा तथा खेलकुद क्षेत्रको राष्ट्रिय नीतिगत नेतृत्व, कानुन तथा मापदण्ड निर्माण, नियमन, समन्वय तथा सहजीकरण गर्ने सङ्घीय सरकारको प्रमुख निकायका रूपमा रहेको छ ।

शिक्षातर्फ मन्त्रालयले राष्ट्रिय जनशक्ति नीति, मानव संसाधन आवश्यकता प्रक्षेपण, राष्ट्रिय शैक्षिक योजना तथा मानव संसाधन विकास योजना, विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, मूल विषयका पाठ्यक्रम तथा नमुना पाठ्यपुस्तक, शैक्षिक गुणस्तरका राष्ट्रिय मानक निर्धारण, मापन तथा नियमन लगायतका कार्य गर्दछ । विद्यालय तहका शिक्षकको सेवा, सर्त, योग्यता तथा समकक्षतासम्बन्धी नीति तथा मापदण्ड, शिक्षक तालिमसम्बन्धी नीति, मापदण्ड तथा स्तरीकरण, तालिमको पाठ्यक्रम प्रारूप, योग्यता निर्धारण तथा सिप परीक्षणका मापदण्ड निर्माण तथा सम्बन्धित तालिम केन्द्रसँगको समन्वयसमेत मन्त्रालयको कार्यक्षेत्रमा पर्दछ । साथै विद्यालय तहको परीक्षाका राष्ट्रिय मापदण्ड, माध्यमिक तहको परीक्षा व्यवस्थापन तथा समकक्षता निर्धारण, राष्ट्रिय परीक्षा बोर्ड तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँग सम्बन्धित नीतिगत कार्य र समन्वय मन्त्रालयले गर्दछ । उच्च शिक्षातर्फ केन्द्रीय विश्वविद्यालयसम्बन्धी नीति, कानुन तथा मापदण्ड, विश्वविद्यालय अनुदान आयोग, केन्द्रीय तथा खुला विश्वविद्यालय, केन्द्रीयस्तरका शैक्षिक प्रतिष्ठान, विदेशी विश्वविद्यालयसँगको सम्बन्धन, शैक्षिक समकक्षता, प्रत्यायन, नियमन तथा शैक्षिक परामर्शसम्बन्धी नीतिगत तथा नियामक कार्य मन्त्रालयको जिम्मेवारीभित्र पर्दछन्। छात्रवृत्ति तथा विद्वत्‌वृत्ति शैक्षिक अध्ययन तथा अनुसन्धानको स्वीकृति, राष्ट्रिय प्राज्ञिक अनुसन्धान, शैक्षिक तथ्याङ्क व्यवस्थापन, शैक्षिक गुणस्तरका मानक निर्धारण, मापन तथा नियमन र केन्द्रीय पुस्तकालयसम्बन्धी नीति, कानुन तथा व्यवस्थापनसम्बन्धी कार्यसमेत मन्त्रालयले गर्दछ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ मन्त्रालयले राष्ट्रिय नीति, पाठ्यक्रम प्रारूप, योग्यता निर्धारण तथा सिप परीक्षणका मापदण्ड निर्माण तथा सम्बन्धित निकायसँग नीतिगत समन्वय गर्दछ। शिक्षा तथा सिपलाई रोजगारी, उद्यमशीलता तथा उत्पादनशीलतासँग आबद्ध गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच, गुणस्तर र सान्दर्भिकता अभिवृद्धि गर्ने नीतिगत आधार निर्माणमा मन्त्रालयले भूमिका निर्वाह गर्दछ । सङ्घीय शासन प्रणालीअनुरूप प्रदेश तथा स्थानीय तहका शैक्षिक विषयमा आवश्यक समन्वय तथा सहजीकरण गरी शिक्षा प्रणालीमा राष्ट्रिय नीति, मापदण्ड तथा गुणस्तरका आधार सुदृढ गर्ने कार्यसमेत मन्त्रालयले गर्दछ । खेलकुदतर्फ राष्ट्रिय खेलकुद परिषद्सम्बन्धी नीतिगत कार्य, राष्ट्रियस्तरका खेलकुद सङ्घसंस्थाको नियमन तथा समन्वय, राष्ट्रिय, प्रादेशिक तथा अन्तर्राष्ट्रियस्तरमा खेलकुदको विकास तथा प्रवर्द्धन र राष्ट्रिय, प्रादेशिक तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना तथा सहभागितासम्बन्धी कार्य मन्त्रालयको जिम्मेवारीमा रहेको छ । साथै स्काउटसम्बन्धी नीति, कानुन, मापदण्ड तथा नियमनसमेत मन्त्रालयको कार्यक्षेत्रमा पर्दछ ।

मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क तथा समन्वय गर्नुका साथै मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, बोर्ड,कम्पनीलगायतका निकायको सञ्चालन तथा नियमन गर्दछ र नेपाल शिक्षा सेवाको सञ्चालन (आर्कियोलोजी समूहबाहेक) सम्बन्धी कार्यसमेत सम्पादन गर्दछ । शिक्षा र खेलकुदलाई मानव पुँजी विकास, सामाजिक रूपान्तरण, राष्ट्र निर्माण तथा समृद्धिको आधारका रूपमा आत्मसात् गर्दै मन्त्रालयले गुणस्तरीय, समतामूलक, समावेशी, जीवनोपयोगी तथा सिपमा आधारित शिक्षाको विकास र उत्कृष्ट खेलकुदको प्रवर्द्धनमा नीतिगत नेतृत्व प्रदान गर्दछ। तथ्यमा आधारित नीति निर्माण, मानव संसाधन विकास, शैक्षिक गुणस्तर सुनिश्चितता, अनुसन्धान तथा नवप्रवर्तन, प्रविधिको प्रभावकारी उपयोग, शैक्षिक तथ्याङ्क व्यवस्थापन, अन्तरसरकारी समन्वय तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी सेवा प्रवाह तथा परिणाममुखी कार्यसम्पादनका प्रमुख आधारका रूपमा लिई सक्षम मानव पुँजी निर्माण, स्वस्थ तथा अनुशासित नागरिक विकास र समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्याउन मन्त्रालय प्रतिबद्ध रहेको छ ।

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ अनुसार मन्त्रालयको कार्य क्षेत्र देहाय अनुसार रहेको छः

  • शिक्षा तथा खेलकुद सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन;
  • केन्द्रीय विश्वविद्यालयसम्बन्धी नीति, कानून र मापदण्ड;
  • विदेशी विश्वविद्यालयसँगको सम्बन्धन, समकक्षता निर्धारण, प्रत्यायन (एक्रिडिटेशन), समन्वय तथा नियमन;
  • केन्द्रीय पुस्तकालयसम्बन्धी नीति, कानून र व्यवस्थापन;
  • मानव संसाधन आवश्यकता प्रक्षेपण, राष्ट्रिय शैक्षिक योजना एवम् मानवस्रोत विकास योजना;
  • विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, मूल विषयको पाठ्यक्रम, नमूना पाठ्यपुस्तक र नियमन;
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको राष्ट्रिय नीति, पाठ्यक्रम प्रारूप, योग्यता निर्धारण, सीप परीक्षणको मापदण्ड;
  • विद्यालय तहको शिक्षकको सेवा सर्त, योग्यता एवम् समकक्षताको नीति र मापदण्ड;
  • शिक्षक तालिमसम्बन्धी नीति, मापदण्ड र स्तरीकरण, पाठ्यक्रम प्रारूप, योग्यता निर्धारण, सीप परीक्षणको मापदण्ड तथा तालिम केन्द्रसँगको समन्वय;
  • विद्यालय तहको परीक्षाको राष्ट्रिय मापदण्ड, माध्यमिक तहको परीक्षा व्यवस्थापन तथा समकक्षता निर्धारण;
  • कूटनीतिक नियोगबाट सम्बन्धन लिई सञ्चालन हुने शैक्षिक संस्थाको स्वीकृति;
  • विदेशी शैक्षिक संस्थाबाट सम्बन्धन लिई सञ्चालन हुने शैक्षिक संस्थाको स्वीकृति, शैक्षिक परामर्श, प्रत्यायन तथा नियमन;
  • प्रदेश तथा स्थानीय तहको शैक्षिक विषयमा समन्वय;
  • विश्वविद्यालय अनुदान आयोग, केन्द्रीय विश्वविद्यालय, खुला विश्वविद्यालय र केन्द्रीयस्तरका शैक्षिक प्रतिष्ठान;
  • छात्रवृत्ति र विद्वत् वृत्तिसम्बन्धी नीति र मापदण्ड;
  • शैक्षिक अध्ययन, अनुसन्धानको स्वीकृतिसम्बन्धी नीति, कानून र मापदण्ड;
  • राष्ट्रिय प्राज्ञिक अनुसन्धान तथा शैक्षिक तथ्याङ्क व्यवस्थापन;
  • शैक्षिक गुणस्तर मानक निर्धारण, मापन तथा नियमन;
  • राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्;
  • स्काउटसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन;
  • राष्ट्रिय खेलकुद परिषद्;
  • राष्ट्रियस्तरका खेलकुद सङ्घसंस्थाको नियमन र समन्वय;
  • राष्ट्रिय, प्रादेशिक र अन्तर्राष्ट्रियस्तरमा खेलकुद विकास र प्रवर्द्धन;
  • राष्ट्रिय, प्रादेशिक र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना र सहभागिता;
  • मन्त्रालयसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय;
  • मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन;
  • नेपाल शिक्षा सेवाको सञ्चालन (आर्कियोलोजी समूहबाहेक)।