माननीय सस्मित पोखरेल नेपाल सरकारका शिक्षा तथा खेलकुद मन्त्री हुनुहुन्छ। सन् २०२६ को आम निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उहाँले २७ मार्च २०२६ मा शिक्षा तथा खेलकुद मन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएको हो।
सन् १९९६ मार्च १४ मा काठमाडौंमा जन्मिनुभएका माननीय पोखरेलले आफ्नो प्रारम्भिक शिक्षा नेपालमा प्राप्त गर्नुभएको हो। त्यसपछि उहाँ केही समयका लागि संयुक्त राज्य अमेरिकामा गई उच्च माध्यमिक (हाई स्कुल) तहको शिक्षा हासिल गर्नुभयो। अन्तर्राष्ट्रिय शैक्षिक वातावरणबाट प्राप्त अनुभवलाई आत्मसात् गर्दै उहाँ उच्च शिक्षाका लागि पुन नेपाल फर्कनुभयो। उहाँले काठमाडौं विश्वविद्यालय स्कुल अफ लबाट ‘ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट एण्ड ब्याचलर अफ ल (BBM, LL.B.) को उपाधि हासिल गर्नुभएको छ। साथै, सार्वजनिक नीति, सुशासन, शिक्षा सुधार तथा संस्थागत विकासका क्षेत्रमा आफ्नो अध्ययन, अनुसन्धान र बौद्धिक योगदानलाई निरन्तरता दिँदै आउनुभएको छ।
सङ्घीय राजनीतिमा प्रवेश गर्नुअघि माननीय पोखरेलले तत्कालीन काठमाडौं महानगरपालिकाका नगर प्रमुख वालेन्द्र शाहको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँले काठमाडौं महानगरपालिकाको नगर योजना आयोगमा ‘एसोसिएट एक्सपर्ट(Associate Expert) का रूपमा कार्य गर्नुभएको थियो भने त्यसपछि शिक्षा तथा सहरी योजनासम्बन्धी सल्लाहकारका रूपमा नीति तर्जुमा, शैक्षिक योजना निर्माण तथा सहरी सुशासनका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनुभयो। आफ्नो कार्यकालमा उहाँले वार्षिक शिक्षा नीति, योजना, कार्यक्रम तथा बजेट निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै सार्वजनिक शिक्षाको गुणस्तर, पहुँच र प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सुधारात्मक पहलहरूको नेतृत्व गर्नुभयो।
काठमाडौं महानगरपालिकामा उहाँका उल्लेखनीय योगदानहरूमध्ये सामुदायिक विद्यालयहरूमा ‘स्मार्ट कक्षाकोठा कार्यक्रमको सुरुआत, विद्यालय गुरुयोजना (School Master Plan) को तर्जुमा तथा परियोजनामा आधारित र अनुभवात्मक सिकाइलाई प्रवर्द्धन गर्ने ‘बुक फ्री फ्राइडे (किताबविहीन शुक्रबार) कार्यक्रमको कार्यान्वयन प्रमुख छन्। साथै, सामुदायिक विद्यालयमा अध्ययनरत हजारौँ विद्यार्थीका लागि शैक्षिक अवसर विस्तार गर्ने विभिन्न छात्रवृत्ति कार्यक्रमहरूको तर्जुमा तथा कार्यान्वयनमा पनि उहाँको महत्त्वपूर्ण योगदान रहेको छ। शिक्षा क्षेत्रमा प्रविधिको उपयोग, सिकाइको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिको प्रवर्द्धनमा उहाँले खेलेको भूमिका विशेष रूपमा उल्लेखनीय मानिन्छ।
माननीय पोखरेलले आफ्नो सार्वजनिक तथा राजनीतिक यात्रा पारदर्शिता, जवाफदेहिता, सुशासन र प्रमाणमा आधारित नीति निर्माणको पक्षमा सञ्चालित युवा नेतृत्वको सुधार अभियानमार्फत प्रारम्भ गर्नुभएको हो। उहाँले सार्वजनिक संस्थाहरूको क्षमता अभिवृद्धि, प्रभावकारी सेवा प्रवाह, सुशासनको संस्थागत विकास तथा राष्ट्रिय विकासमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्न निरन्तर पैरवी गर्दै आउनुभएको छ।
शिक्षा तथा खेलकुद मन्त्रीका रूपमा माननीय पोखरेल नेपालभर गुणस्तरीय, समतामूलक, समावेशी तथा प्रविधिमैत्री शिक्षा प्रणालीको विकास र विस्तारमा प्रतिबद्ध हुनुहुन्छ। उहाँका प्रमुख प्राथमिकताहरूमा सार्वजनिक शिक्षाको सुदृढीकरण, शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि, पाठ्यक्रमको आधुनिकीकरण, शिक्षामा डिजिटल रूपान्तरणको प्रवर्द्धन, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको प्रोत्साहन, उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, साथै युवा सशक्तीकरण र राष्ट्रिय विकासका आधारका रूपमा खेलकुद क्षेत्रको समग्र विकास रहेका छन्। नेपालको शिक्षा प्रणालीलाई समयानुकूल, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरसँग जोड्ने दीर्घकालीन दृष्टिका साथ उहाँ आफ्नो जिम्मेवारी निर्वाह गरिरहनुभएको छ।