वि.सं:
नेपाल संवत: ११४५ पोहेलागा अष्टमी - २३
सङ्क्षिप्त परिचय (विद्या भट्टराई)
वर्तमान
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा लामो समय संग्लन माननीय विद्या भट्टराई कास्की निर्वाचन क्षेत्र नं. २ बाट २०७६ मा भएको उपनिर्वाचनमा निर्वाचित भएर संसद बन्नु भएकी भट्टराई २०७९ को निर्वाचनमा पनि सोहि क्षेत्रबाट दोस्रो पटक निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।
बाल्यकाल र शिक्षा
बि सं २०२९ साल कार्तिक १४ गते काठमाडौंको वडा नं ७ चाबहिलमा जन्मिनु भएकी मन्त्री भट्टराई पिता स्व. हेमराज भट्टराई र माता स्व. टोमकुमारी भट्टराईको एकमात्र सन्तान हुनुहुन्छ । काठमाडौं, चावहिलस्थित पशुपति माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा अध्ययन गर्नुभएकी उहाँको उच्च शिक्षा क्रमश: पद्मकन्या क्याम्पस र त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट हासिल गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट समाजशात्रमा एम.फिल. सम्मको अध्ययन गर्नु भएकी उहाँले त्रिभुवन विश्वविद्यालयकै उप प्राध्यापक भएर प्राध्यापन पेशामा काम गर्नुभयो ।
विद्यार्थी जीवन र राजनीति
प्रारम्भिक शिक्षा लिने क्रममै कक्षा ७ मा हुँदा नै अनेरास्ववियुमा आवद्ध हुनुभएकी विद्या भट्टराई जब पद्मकन्या क्याम्पसमा अध्ययनरत रहँदा देशका विभिन्न ठाउँबाट अध्ययनका लागि पद्मकन्या क्याम्पसमा आउने विद्यार्थीहरूबाट नेपाली समाजको अवस्थाका मूलभूत कारणहरूलाई नजिकबाट बुझ्ने अवसर पाउनुभयो । यो नै उहाँको लागि जीवनयात्राको महत्वपूर्ण मोड बन्न पुग्यो । तत्समयमा सँगसगै निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध भुसको आगोसरी फैलिएको विद्यार्थी आन्दोलन र प्रतिबन्धित राजनीतिक दलहरूको भूमिगत विस्तार र आन्दोलनले लोकतन्त्र बिना मुलुकको प्रगति संभव छैन भन्ने निष्कर्षका साथ अध्ययनसंगै राजनीतिमा सक्रिय सहभागी हुन थाल्नु भयो । वामपन्थी-लोकतान्त्रिक गतिविधिहरूमा सहभागी हुने क्रममा उहाँको राजनीतिक दृष्टिकोण र रोजाई उन्नत बन्न पुग्यो ।
आम विद्यार्थीहरूका अधिकार र राजनीतिक स्वतन्त्रताका निम्ति निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था विरोधी लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागी हुनुभयो । सानै उमेर देखि राजनीतिक गतिबिधिमा चासो राख्ने भट्टराई २०४३ मा संसदीय निर्वाचनमा जनपक्षीय उम्मेदवारको पक्षमा सक्रिय, भारतीय नाकाबन्दी विरुद्ध अनेरास्ववियुका विभिन्न मोर्चा र आन्दोलनको अगुवाई, २०४६/४७ को जनआन्दोलनमा पद्मकन्या क्याम्पसमा अनेरास्ववियुको तर्फबाट अगुवाई गर्दै सक्रिय सहभागिता साथै विभिन्न राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा सहभागी हुनुहुन्थ्यो ।
वैवाहिक जीवन र राजनीति
बि सं २०५६ साल असारमा कास्की जिल्ला साबिक भरतपोखरी गा.बि.स. वडा नं ९ जमुनाबोट स्थित पिता इन्द्रप्रसाद अधिकारी र माता लक्ष्मीदेवी अधिकारीका जेष्ठ सुपुत्र रवीन्द्र अधिकारीसँग वैवाहिक जीवनमा बाँधिनु भयो । रवीन्द्र अधिकारी पनि सक्रिय राजनीतिमा हुनुहुन्थ्यो । सानै उमेर देखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी विद्यालयमा अनेरास्ववियु, रेडक्रस र क्लबहरूमा संलग्न हुनुभयो । मन्त्री भट्टराईका २ छोराहरू, विराज अधिकारी र स्वराज अधिकारी हुनुहुन्छ ।
वैवाहिक जीवनमा प्रवेश गरिसकेपछि भने विद्या भट्टराईले आफ्नो राजनीतिक यात्रालाई प्राज्ञिक बाटोतर्फ मोड्दै अगाडी बढ्नुभयो । २०५७ सालमा पृथ्वी नारायण क्याम्पसमा प्राध्यापन पेसामा प्रवेश गर्नुभएकी विद्या २०५८ सालमा बुद्धिजीवी परिषदको सदस्यता ग्रहण र परिषदका काममा क्रियाशील रहदै २०६२-६४ सम्म उच्च शिक्षा पाठ्यक्रम समितिको सदस्य हुनुभयो । आंशिक तथा स्थाई गरी विभिन्न विद्यालयहरूमा १७ वर्ष प्राध्यापन गरिरहनु भएकी भट्टराई २०७६ सालमा त्रिभुवन विश्वविद्यालय, उपप्राध्यापक पदबाट राजिनामा दिनुभयो । कास्की क्षेत्र नं २ बाट निर्वाचित लोकप्रिय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको २०७५ सालमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट आफ्नो उम्मेदवारी घोषणा गर्नुभएकी भट्टराई २०७६ मंसिर १४ गते भएको उपनिर्वाचनमा विजयी हुनुभएको थियो, भने २०७९ को आम निर्वाचनमा दोश्रो पटक पुनः निर्वाचित हुनुभयो । हाल प्रतिनिधि सभा सदस्य विद्या भट्टराई नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुनुहुन्छ ।
राजनीतिक क्रियाशीलता